सौराहा– एमालेको केन्द्रीय कमिटीमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने खुला सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारमध्ये बन्दसत्र हलबाट अनुमोदन भएकाबाहेक अन्यले सोमबार राति उम्मेदवारी फिर्ता लिएसँगै दुवै प्रदेशका खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनको बन्त्रसत्र जारी रहँदा निर्विरोध हुन नसकेका पदाधिकारी र सदस्य पदमा निर्वाचन गर्ने तयारी भइरहेको छ।
सुदूरपश्चिममा खुला (पुरुष) ६ केन्द्रीय सदस्यको पदमा ९ जनाको उम्मेदवारी दर्ता भएको थियो। तीमध्ये कृष्णप्रसाद जैशी, सहदेब बोगटी र दिपकप्रसाद भट्टले उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै कर्णालीमा ६ केन्द्रीय सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेकोमा योगेन्द्र शाहीले फिर्ता लिएका छन्।
सुदूरपश्चिमबाट निर्विरोध निर्वाचित हुनेमा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहोरा, भैरबहादुर सिंह र लिलाधर भट्ट छन्।
त्यस्तै, कर्णालीबाट निर्विरोध निर्वाचित हुनेहरुमा गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नगिन्द्र शाही, विष्णु रिजाल र निरज आचार्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।