सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: संशोधन भएको छ। आइतबार नै २ पटक संशोधन भएको निर्वाचन कार्यतालिका सोमबार पुन: फेरिएको हो।
फेरिएको निर्वाचन कार्यतालिकाअनुसार अब मतदान मंगलबार बिहान २ बजेदेखि मात्रै सुरु हुने भएको छ। यसअघिको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान हुने भनिएको थियो।
सोमबार दिउँसो नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि सहमतिका नाममा निर्वाचन कार्यक्रम सारिएको हो।
एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार अब १० वटा पदमा मात्रै निर्वाचन हुने भएको छ। केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका लागि र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पदका लागि निर्वाचन हुन लागेका हो।
अब अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश १ खुला, प्रदेश १ महिला, सुदूरपश्चिम प्रदेश महिला, दलित खुला, थारु खुला, पिछडिएको क्षेत्र खुला, खुला समूहअन्तर्गत मात्रै निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।