सौराहा- नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको लागि विभिन्न ५० वटा समूहका लागि निर्वाचन हुने व्यवस्था रहेको भए पनि अब १० समूहमा मात्रै निर्वाचन हुने भएको छ।
धेरैजसो समूहबाट निर्विरोध निर्वाचित भएकाले अब १० समूहका लागिमात्रै निर्वाचन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
अब अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश १ खुला, प्रदेश १ महिला, सुदूरपश्चिम प्रदेश महिला, दलित खुला, थारु खुला, पिछडिएको क्षेत्र खुला, खुला समूहअन्तर्गत मात्रै निर्वाचन हुनेछ। अन्तिम समयमा निर्वाचन गर्नुपर्ने समूहको संख्या अझै घट्नसक्ने सुब्बाको आकलन छ।
मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। त्यहाँ प्रत्येक समूहका उम्मेदवारलाई भोट दिनका लागि फरक-फरक ‘स्लाइड’ आउनेछ। अब १० वटामात्रै स्लाइडमा मत दिनुपर्ने भएकाले मतदान छिट्टै सकिने सुब्बाको भनाइ छ।
सोमबार राति ९ बजेदेखि ३ बजेसम्म मतदान हुने भनिएको भए पनि साढे ९ बजिसक्दासमेत उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिएको छैन। केहीबेरमै अन्तिम सूची सार्वजनिक गर्ने सुब्बाको भनाइ छ।
निर्वाचन आयोगबाट उम्मेदवारको सूची प्राप्त भएपछि त्यसको डेटा विद्युतीय भोटिङ मेसिनमा राखिनेछ। त्यसका लागि केही घण्टा लाग्ने बताइएको छ। त्यसपछि मात्रै निर्वाचन हुनेछ। निर्वाचन सकिएको केही घण्टामै अन्तिम नतिजा आउने सुब्बाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।