सौराह– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र विभिन्न केन्द्रीय आयोगका पदाधिकारी र सदस्यको सूची दोस्रो दिनको बन्दसत्रमा प्रस्ताव गरेका थिए। सर्वसम्मतिसहित ती नामहरु पारित हुने अपेक्षा थियो।
तर, निर्वाचन प्रक्रियामा जाँदा ओली आफैंले अध्यक्षमा भीम रावलको चुनौती सामना गर्नु परिरहेको छ भने अन्य पदमा पनि उनले प्रस्ताव गरेभन्दा बढीको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा घनश्याम भूसालले ओलीले प्रस्ताव गरेका ७ जनाविरुद्ध उम्मेदवारी दिएका छन्।
आदिवासी जनजातितर्फ १७ जनाको कोटा रहेको थियो। ओलीले १७ जनाकै नाम सार्वजनिक गरेका थिए, तर निर्माण बुढा र सुवास कर्माचार्यले समेत उम्मेदवारी दिँदा चुनाव हुने भएको छ।
सम्पर्क समन्वयको महिला कोटामा ओलीले कल्पना थापाको नाम प्रस्ताव गरे, तर जानुका रोकाले उनका विरुद्ध उम्मेदवारी दिएकी छिन्।
मधेशीतर्फ १३ जनाको कोटा थियो। ओलीले १३ जनाकै नाम हलमा पढेर सुनाइए पनि बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले ती नामलाई स्वीकार्न नसकिने भन्दै उम्मेदवारी दिएका छन्।
८ जना निर्वाचित हुने दलित कोटामा १० जनाको उम्मेदवारी परेको छ। नरबहादुर विक र अनुभूति वम नेपालीले ओलीको प्रस्ताव बाहिरबाट दाबी गरेका हुन्।
थारु खुलामा पाँचजनाको कोटा छ, तर जयप्रकाश थारुले ओलीको सूची बाहिरबाट उम्मेदवारी दिएर निर्वाचनमा जान बाध्य पारेका छन्।
समावेशीतर्फत मुस्लिममा ४ जनाको कोटा छ। ओलीले प्रस्ताव गरेका ४ जना बाहेक इसलाम हवारी र नजिर मियाले पनि उम्मेदवारी दिएका छन्।
पिछडिएको क्षेत्रमा ३ जनाको कोटा भएकोमा भरत साउँद र लालवहादुर रावलले सूचीबाहिरबाट उम्मेदवारी दिएका छन्।
खुलामा लालबाबु पण्डितले सदस्य पदमा बस्न अस्वीकार गरे भने अरु केहीको कलस्टर परिवर्तन भयो। खुला पुरुषतर्फ ८४ जना चाहिनेमा ८५ जनाको नाम दर्ता भएको छ। ओलीले प्रस्ताव गरेका बाहेक सुरेन्द्र मानन्धर, नरेश खरेल, कमल तिमिल्सिना, निर्मल भट्टराई, पदमराज जोशीले उम्मेदवारी दिएका छन्।
प्रदेश १ खुलामा ६ जनाको कोटामा ९ जनाको उम्मेदवारी परेको छ। धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले सूचीबाहिरबाट उम्मेदवारी दिएका छन्।
बागमतीमा ओलीको प्रस्तावबाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ।
सुदूरपश्चिममा पनि खुल्ला पुरुष ६ जनामा थप ३ जनाले उम्मेदवारी दिएका छन्। सुदूरपश्चिमबाट कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका हुन्।
महिलामा पनि कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले सूचीबाहिरबाट उम्मेदवारी दिएका छन्।
कर्णालीबाट ओलीले प्रस्ताव गरेका बाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।