सौराहा- नेकपा (एमाले)को जारी महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशन गरेको छ। सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको छ।
पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ। एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। त्यस्तै, छ जना उपाध्यक्षको लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ।
खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको मात्रै उम्मेदवारी परेको छ। त्यहाँ निर्वाचन हुनेछ। खुला (महिला)तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
भौगोलिक प्रदेशको खुला समूहमा मतदान हुने देखिन्छ। प्रदेश १ को खुला सदस्यका लागि छ जना सदस्यको लागि नौ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, बागमती प्रदेशमा छ जना सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा छ जना सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा छ जना सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ। भौगोलिक प्रदेशअन्तर्गत सुदूरपश्चिमबाहेक सबै प्रदेशमा महिला आरक्षणअन्तर्गतको उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने देखिन्छ। सुदूरपश्चिममा भने तीन जना सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ।
उपत्यका प्रदेश र सम्पर्क समन्वयबाट निर्विरोध निर्वाचित हुने देखिन्छ।
समावेशी समूहअन्तर्गत अधिकांश पदमा निर्वाचन हुने देखिन्छ। आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ।
मधेसीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ। मधेसी समूहको महिला आरक्षणतर्फ उम्मेदवारी दिएका सबै निर्विरोध निर्वाचित हुने भएका छन्।
त्यस्तै, दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महिला आरक्षणमा निर्विरोध हुने देखिन्छ। थारुको खुलातर्फ पाँच सदस्यका लागि छ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ। मुस्लिम खुलामा चार जनाका लागि छ जनाको उम्मेदवारी परेको छ। पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन जना सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ।
दाबी विरोधका लागि आयोगले उम्मेदवारको सूची प्रकाशन गरेको हो। अन्तिम सूचीमा केही नामहरु हट्न भने सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।