काठमाडौं- नेकपा एमाले नेता लालबाबु पण्डितले आफूले केन्द्रीय कमिटीमा उम्मेदवारी नै नदिएको भन्दै उक्त कमिटीमा बस्न अस्वीकार गरेको बताएका छन्।
एमालेको जारी १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरी बन्दसत्रको हलबाट अनुमोदन भएको केन्द्रीय सदस्यको पद नेता पण्डितले सोमबार अस्वीकार गरेको घोषणा गरेका हुन्। आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिन नचाहेको उनले बताए।
‘अध्यक्षलाई मैले केन्द्रीय कमिटीमा फाइट गर्दिनँ भनेको थिएँ। अब नयाँ केन्द्रीय कमिटीमा बस्दिनँ। मैले उम्मेदवारी नै दिएको छैन। अब, संगठित सदस्यको मात्रै जिम्मेवारी पूरा गर्छु। अहिलेको केन्द्रीय कमिटीमा रहिनँ,’ उनले भने।
पण्डितले पदाधिकारी पाए मात्रै आफूले प्रतिस्पर्धा गर्छु अन्य ठाउँमा गर्दिनँ भनेर भेटेरै अध्यक्ष ओलीलाई भनेको बताए। उनले उपाध्यक्षमा उठ्ने तयारी गरेका थिए। उपाध्यक्षमा नपरेपछि उनले केन्द्रीय कमिटीमा मात्रै बस्न अस्विकार गरेका हुन्।
'पदाधिकारी भए उठ्थेँ। पदाधिकारीमा राखिएन। बागी उठ्नलाई मेरो खुनमै छैन। पदाधिकारीमा नाम भएको भए उम्मेदवारी दिन्थेँ। केन्द्रीय कमिटी सदस्यको लागि उम्मेदवारी दिइनँ' पण्डितले नेपाल लाइभसँग भने।
पण्डित आठौं महाधिवेशनमा तराई-मधेस समूहबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। नवौं महाधिवेशनमा भने उनी उपाध्यक्षमा पराजित भएका थिए। त्यतिबेला उनी माधव नेपालको प्यानलमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।