काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी अधिवेशनका लागि कमल थापाले उम्मेदवारी घोषणा गरेसँगै अध्यक्षको अर्का दाबेदार भनिएका पशुपति शमशेर राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
राणाले नेपाल लाइभसँग कुरा गर्दै आफूले यो पटक उम्मेदवार नहुने मनसाय बनाएको बताए। एकता महाधिवेशन सहमतिकै आधारमा अघि बढ्नुपर्ने र विगतमा पनि राप्रपाको महाधिवेशन भएपछि फुट हुने नराम्रो इतिहास भएकाले यसपटक आफूले प्रतिस्पर्धाको मनसाय नबनाएको उनले बताए।
थापाले आज अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए। यसअघि राजेन्द्र लिङदेनले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।
राणा पछि हटेपछि थापा अध्यक्षको बलियो प्रतिस्पर्धी बनेका छन्। संस्थापक नेताहरु पछि हटेको र लिङदेन पछिल्लो पुस्ताको भएकाले उनको चुनौती कम हुने आकलन थापापक्षले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।