काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले पेस गरेको र बन्दसत्र हलले अनुमोदन गरेको केन्द्रीय कमिटीका सदस्यहरुको सूचीमा कतिपय नेताका नातागोतासमेत परेका छन्।
महासचिवमा प्रस्ताव गरिएका शंकर पोखरेलका सबैभन्दा धेरै आफन्त समेटिएका छन्। पोखरेलकी श्रीमती र बहिनी केन्द्रीय कमिटीको सूचीमा छन्। पोखरेलकी श्रीमती सुजिता शाक्य यसअघि पनि केन्द्रीय कमिटी सदस्य थिइन्। त्यसैगरी बहिनी मेनका पोखरेल पनि ओलीले पेस गरेको सूचीमा केन्द्रीय कमिटी सदस्यमा परेकी छिन्।
पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारी थिए। हाल उनी लुम्बिनी प्रदेश सभामा विपक्षी दलकाे नेता छन् भने शाक्य प्रतिनिधि सभा सांसद छिन्।
यस्तै, पार्टी सचिवको जिम्मेवारी पाएका रघुवीर महासेठकी श्रीमती जुली महतो केन्द्रीय सदस्यमा अटाएकी छन्। महासेठ र महतोले पालैपालो पार्टीमा अवसर लिएको भन्दै आलोचनासमेत हुने गरेको छ।
शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि केन्द्रीय सदस्यको सूचीमा परेका छन्। तामाङ पार्टी कार्यालय सचिवको जिम्मेवारीमा छन्। राई प्रदेश-१ को सांसद छिन्।
अनुशासन आयोगका अध्यक्षमा प्रस्ताव गरेर बन्दसत्रबाट अनुमोदन भएका केशव बडालका भतिजा रमेश बडाल श्रमिक कलस्टरबाट केन्द्रीय कमिटीमा परेका छन्। यस्तै राजन भट्टराई र उनकी बहिनी विद्या भट्टराई पनि केन्द्रीय कमिटी सदस्यमा अटाएका छन्। श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि विद्या राजनीतिमा सक्रिय भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।