सौराहा- घनश्याम भुसालले पार्टीभित्र सिद्धान्त, मार्क्सवाद र विचार जिउँदो छ भन्ने कुराको हस्तक्षेप जरुरी छ भनेर आफूले उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवार मनोनयन दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले जित्ने बताए।
नेकपा एमालेले बेलाबेलामा गल्ती गरेको र बेलैमा आफूलाई सुधारेको उनको भनाइ छ। 'यसका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु जहिलेसुकै क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा, श्रमजीवी वर्गको पक्षमा उनीहरु खडा छन्। यिनीहरुले पार्टीलाई गल्ती गर्न दिँदैनन्,' उनले भने, 'कहीँ पार्टीले गल्ती गरिहाल्यो भने सुधार गर्ने लामो परम्परा छ। त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो।'
एमालेको नीति र सिद्धान्तहरु बनाउन गएको बीस वर्षदेखि आफूले निरन्तर प्रयत्न गर्दै आएको उनले बताए। नवौं महाधिवेशनदेखि औपचारिक रुपले आफ्नो विचार, सिद्धान्त र कार्यदिशा अनुसार पार्टी अगाडि बढेको उनले बताए।
'कार्यक्रम भएन भने कार्यदिशाले मात्रै केही गर्दैन। कार्यक्रम बनाएपछि त्यसलाई बोक्न सक्ने कस्तो संगठनात्मक सिद्धान्त हुन्छ भन्ने कुराको व्याख्या कार्यक्रमले नै माग्छ। विधान कस्तो बनाउने भन्ने कुरा त्यसपछाडि सुरु हुन्छ,' उनले भने, 'यसो भयो भने हाम्रो सिद्धान्त, कार्यदिशा र कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान संगतिपूर्ण हुन्छ। र कार्यभार, आजको क्रान्ति, समाजवाद र समृद्धितर्फको यात्रालाई हामीले भन्ने गरेको समृद्ध नेपाल र सुखी नेपालीतर्फको यात्रालाई वास्तविक रुपले बोक्ने संगठन बन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।