चितवन– एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारी घोषणा गरेका छन्। उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम घोषणा गरेका छन्।
महासचिवमा शंकर पोखरेललाई अघि सारेका ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन्। त्यसैगरी, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन्।
अध्यक्ष ओलीले सचिवमा प्रस्ताव गरेका पद्मा अर्याल नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य चुनिएकी थिइन्। त्यसअघि चुनाव लडेर स्याङ्जा एमालेकी अध्यक्ष बनिन्। गएको चुनावमा तत्कालीन मन्त्री गोपालमान श्रेष्ठलाई हराउँदै स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य बनिन्। ओली सरकारमा स्वास्थ्य राज्यमन्त्रीमा इन्ट्री गरेकी उनले भूमि व्यवस्था र कृषि मन्त्रीसमेत बन्ने अवसर पाइन्।
सचिवमा प्रस्तावित रूपन्देही १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मा दलित समुदायबाट एमाले स्थायी कमिटी सदस्य थिए। ओलीकालमा कुनै विशेष पदमा अवसर नपाउने एकमात्र ओलीनिकट स्थायी कमिटी सदस्य हुन् विश्वकर्मा।
अर्का सचिव रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए। एमाले स्थायी कमिटी सदस्य रहेका उनी ओलीगुटमा प्रभावशाली नेतामा गनिन्छन्। उनी गत महाधिवेशनमा सचिवमा पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।