काठमाडौं– एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारी घोषणा गरेका छन्। उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम घोषणा गरेका छन्।
महासचिवमा शंकर पोखरेललाई अघि सारेका ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन्। त्यसैगरी, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन्।
नवौं महाधिवेशनमा सचिव पदमा पराजित विष्णु रिमाल र उपमहासचिवमा पराजित शंकर पोखरेललाई ओलीले बढुवा गरेका छन्। अध्यक्ष ओलीको प्रियपात्र भएकै कारण उनीहरूको एक–एक तह बढुवा भएको हो। गत महाधिवेशानमा लोकप्रिय मत ल्याउने विष्ट पुनः सचिवमै रोकिए भने घनश्याम भुसाल पदाधिकारीमै अटाएनन्। १० बुँदे सहमतिका पक्षधर भुसालसँग ओली निकै रुष्ट छन्।
अध्यक्ष ओलीले पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवालीलाई समेत एकतह बढुवा गराएका छन्। उनीहरु अघिल्लो महाधिवेशनबाट सचिबबनेका थिए।
ओलीइतर गुटमा रहेर पछि ओलीतर्फ नै फर्किएका योगेश भट्टराई पनि सचिवमा दोहोरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।