काठमाडौं– नेकपा एमालेको जारी १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारी दर्ताको काम सक्ने गरी प्रकाशन गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको हो।
एमालेको केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता गर्ने गरी नयाँ कार्यतालिका जारी गरेको छ।
जसअनुसार सोमबार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारहरुलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ।
बिहान १०:३० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिएका छन्। बिहान १०:४५ बजेसम्म उम्मेदवारो विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजेसम्म उजुरी उपर छानबिन र निर्णय हुनेछ।
यस्तै, बिहान ११:३० बजेसम्म उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताको समय दिइने छ। बिहान ११:४० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुने छ।
मतदानको समय मंगलबार बिहान ३ बजेसम्मलाई तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।