काठमाडौं– सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको भनिएको नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले आइतबार अबेर राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन कार्यतालिकाअनुसार आज (आइतबार) राति नै मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण र उम्मेदवारको दरखास्त फारम दर्ता हुनेछ। त्यस्तै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, छानबिन र निर्णय हुने, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली पनि राति नै प्रकाशन गरिनेछ।
निर्वाचन आयोगले विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि दस्तुर निर्धारण गरेको छ।
एमाले अध्यक्षको उम्मेदवारीका लागि १५ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। यस्तै, केन्द्रीय पदाधिकारीको हकमा १० हजार, केन्द्रीय सदस्यको हकमा ५ हजार, केन्द्रीय आयोगको अध्यक्षमा १० हजार र केन्द्रीय आयोगको पदाधिकारी तथा सदस्यको हकमा ५ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।