सौराह– नेकपा एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा ‘सर्वसम्मत’ चयन हुनेहरूको सूची लगभग तयार भएको छ। उक्त सूचीलाई अन्तिम रुप दिन उपमहासचिव विष्णु पौडेलले पद लेखिएको, तर नाम नभरिएको ‘डकुमेन्ट’ तयार गरेका छन्।
अध्यक्ष पदमा केपी शर्मा ओलीको नाम लेखिएको छ भने अन्य पदमा नाम खाली गरेर प्रिन्ट गरिएको छ। प्रिन्ट गरिने कम्युटरबाट लिक नहोस् भन्नका लागि बाँकी पदमा नाम हातले नै लेख्ने तयारी गरिएको बुझिएको छ।
उक्त सूची बन्द सत्रमा पेस गर्नुअघि महाधिवेशन अध्यक्ष मण्डलमा छलफल हुनेछ। अध्यक्ष मण्डलमा भीम रावल पनि रहेका छन्।
शीर्ष नेताहरुले आफूहरु सहमति नजिक पुगिसकेकाले चाँडै बन्दसत्र सुरु हुने संकेत निकटस्थ नेताहरुलाई दिएका छन्।
अध्यक्ष ओली बसिरहेको होटेलबाट ओलीनिकट नेताहरु प्रदीप ज्ञवाली, महेश बस्नेतलगायत बन्दसत्र हुने स्थलतर्फ लागिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।