काठमाडौं– वैकल्पिक फरवार्ड सुमन लामाको गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो।
यसअघि पुलिसले लिगको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो।
खेलको १०औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार सत्रुघनकुमार चौधरीले क्लिय गर्दिए।
३९औं मिनेटमा रुपबहादुर लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघनले सहजै नियन्त्रणा लिए। लगत्तै ४०औं मिनेटमा रवि पासवानको क्रसमा तेज तामाङको प्रहार गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए।
६०औं मिनेटमा दीपकराज सिंहको क्रसमा सन्तबहादुर गुरुङको हेडर गोलरक्षक चौधरीले बचाए। ६१औं मिनेटमा रविको प्रहार गोलरक्षक टेकेन्द्रले पञ्च गर्दै बचाए। ६५औं मिनेटमा गोलरक्षक टेकेन्द्र अघि बढेको अवस्था रविको फ्रि हेडर पोस्टमा लाग्दै बाहिरियो।
६७औं मिनेटमा ओनगुना जुगियरको प्रहार गोलरक्षक सत्रुघनले बचाउँदा रिवाउन्डमा गोलरक्षक बिट भइसकेको अवस्थामाा सन्तको प्रहार दोस्रो बारमा लाग्दै फर्कदा जावलाखेल अग्रता लिनबाट चुक्यो।
७०औं मिनेटमा वैकल्पिक खेलाडी सुमनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए। रवि पासवानको पासमा तेज तामाङले छोडेको बलमा सुमनले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरे।
पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ। लगातार दोस्रो हार बेहोरेको जावलाखेलले अंकको खाता खोल्न सकेको छैन।
लिगमा सोमबार दुई खेल हुनेछ। पहिलो खेलमा न्युरोड टिम एनआटी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच दिउँसो १ बजे तथा दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।