काठमाडौं– नेकपा एमाले नेता लेखराज भट्टले आफूले कुनै पद दाबी नगरेको बताएका छन्। जुन पदमा सहमति हुन्छ आफू त्यसैमा बस्न तयार रहेको भट्टको भनाइ छ।
नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले रोजेका नेताहरुले १०औं महाधिवेशनमा पदाधिकारीमा ३ पदमा दाबी गरेको चर्चा चलिरहेका बेला भट्टको यस्तो प्रतिक्रिया आएको हो।
‘मैले यो पद चाहियो, त्यो चाहियो भनेको छैन। पार्टीमा जे सहमति हुन्छ त्यसैलाई मानेर जाने हो,’ भट्टले भने।
१०औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन (आइतबार) पूर्व माओवादी नेताहरुले अध्यक्ष ओलीलाई भेटेर पदाधिकारीमा ३ पद र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थितिको प्रस्ताव राखेका थिए।
पदाधिकारीमा दाबी गरिएका ३ पदमा रामबहादुर थापा (बादल)लाई उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र भट्ट वा प्रभु साहमध्ये १ जनालाई सचिव बनाइनुपर्ने पूर्व माओवादी नेताहरुको प्रस्ताव छ।
जवाफमा ओलीले भने पदाधिकारीमा २ पद (उपाध्यक्ष र उपमहासचिव वा सचिवमध्ये १) पद मात्रै दिन सकिने बताएका छन्।
तर, भट्टले भने ओलीसँग भेटेर आफूले कुनै पद माग नगरेको बताए। ‘मैले अध्यक्षलाई भेटेर कुनै माग राखेको छैन्,’ भट्टले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।