भरतपुर– एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ३ वटा पदाधिकारीमा दाबी गर्दै आएका पूर्व माओवादी नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले २ वटा मात्रै दिन सकिने बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपा विभाजन हुँदा माओवादी केन्द्र परित्याग गरी एमाले रोजेका नेताहरुले पदाधिकारीमा ३ पद दाबी गरेका थिए। उपाध्यक्ष, उपमहासचिव र सचिव १–१ गरी पदाधिकारीमा ३ वटा पद पाउनुपर्ने माओवादी नेताहरुको दाबी थियो।
बन्द सत्रको दोस्रो दिन आइतबार दिउँसो ओलीसँगको छलफलमा पूर्व माओवादी नेताहरुले पदाधिकारीमा ३ पदसहित केन्द्रीय समितिमा पनि सम्मानजनक उपस्थितिको प्रस्ताव राखेका थिए।
ओलीले भने पदाधिकारीमा २ वटा पद मात्रै दिन सकिने जवाफ दिएका ओली निकट एक नेताको भनाइ छ।
‘माओवादी परित्याग गरी एमालेमा आउनुभएका कमरेडहरूले ३ पद दाबी गर्नु भएको छ। केपी कमरेड दुई पद मात्रै दिन सक्ने अवस्थामा हुनुहुन्छ,’ ओली निकट एक नेताले भने।
पूर्व माओवादी नेतामध्ये रामबहादुर थापा (बादल)लाई उपाध्यक्ष बनाउने ओलीको प्रस्ताव छ। नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये १ जनालाई उपमहासचिव वा सचिवमध्ये १ पद दिन सकिने पनि ओलीले जवाफ दिएका छन्।
पूर्व माओवादी नेताहरुले उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्ट वा प्रभु साहमध्ये १ जनालाई बनाइनुपर्ने माग सारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।