काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निकट दुई नेता रमेश लेखक र एनपी साउँद पक्षबीच प्यानल नै बनाएर भएको प्रतिस्पर्धामा लेखक पक्षका बोगटी जिल्ला सभापति निर्वाचित भएका हुन्।
सभापतिमा निर्वाचित भएका बोगटीले ८०६ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी (साउँद पक्षका उम्मेदवार) बहादुरसिंह थापाले ७१५ मत ल्याए।
लामो समय एनपी साउँदसँग निकट रहेर जिल्लाको कांग्रेस राजनीतिमा सक्रिय बोगटी जिल्ला अधिवेशन हुनुभन्दा केही दिन अगाडि मात्रै 'क्याम्प' परिवर्तन गरेर लेखक पक्षमा गएका थिए। एनपीले बहादुरसिंहलाई सभापतिमा अगाडि सार्ने देखिएपछि बोगटी लेखक पक्षमा लागेका थिए।
बोगटी यसअघि १३औं महाधिवेशनका बेला एनपी साउँदै पक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए।
कञ्चनपुर कांग्रेसको उपसभापतिमा मीन बहादुर सिंह र हरिसचन्द्र राना विजयी भएका छन्। सिंहले ७८६ मत पाए भने रानाले ७६३ मत ल्याए। सचिवमा पनि हेमराज ओझा ७३० र भीम भट्ट ७१३ मत ल्याएर विजयी भएका छन्।
सह–सचिवमा नाफुसिह साउँद र पुष्कल चौधरी विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।