खगराज अधिकारी, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचनबाट चयन हुने सम्भावना समाप्त भएको बताएका छन्। ९९ प्रतिशत सहमति भइसकेको र अध्यक्ष केपी शर्मा ओलीबाट पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम घोषणा हुने उनको भनाइ छ।
अध्यक्ष ओली निकट रहेका अधिकारीले हिजो (शनिबार) बन्दसत्रको हलले अध्यक्षलाई पदाधिकारी र केन्द्रीय सदस्यहरु घोषणा गर्ने अधिकार दिएकाले सहमतिमा नाम घोषणा हुने बताए।
‘अब सहमति नै हुने हो। ९९ प्रतिशत सहमति भइसक्यो,’ उनले भने, ‘हलले म्यान्डेट दिएको छ। भोट हाल्ने नै हलले हो, उसैले नै अध्यक्षलाई अधिकार दिएको छ।’
ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको सुची तयार गर्ने अधिकार दिएकोबारे केही नेताले असन्तुष्टि जनाएको विषयमा अधिकारीले त्यो 'उनीहरुको अधिकार' भएको बताए।
'मान्दैनौं भन्ने उहाँहरुको अधिकार हो। अब अध्यक्षले पदाधिकारी र केन्द्रीय सदस्यको नाम घोषणा गर्नुहुन्छ। सहमति नजुटेको पदमा के हुने भन्ने कुरा त्यसपछि नै तय हुन्छ,' अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।