काठामाडौं– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। शुक्रबार नारायणी किनारमा उद्घाटन समारोह गरेको एमालेको बन्दसत्र सौराहामा जारी छ।
बिहान १० बजे सुरु हुने भनिएको दोस्रो दिनको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन। शनिबारको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार गर्ने अधिकार दिएको थियो। तर, सूची तयार नभएकाले बन्दसत्र सुरु हुन सकेको छैन।
महाधिवेशनमा अध्यक्षका एक जना 'उम्मेदवार' रहेका ओलीको प्रशंसामा बन्दसत्र स्थलमा गीत बजाइएको छ। अर्का 'उम्मेदवार' भीम रावल पक्षलाई प्रचार गर्न पनि नदिएको भन्दै असन्तुष्टि व्यक्त भइरहेका बेलामा ओलीको प्रशंसाका गीत भने बजाइएको छ। त्यहाँ 'जनबोलीलाई, साथ छ ओलीलाई...' लगायतका गीत बजाइएको हो।
अन्य गीतको विषयमा पनि आलोचना भएको छ। महाधिवेशन प्रतिनिधि उषाकिरण तिम्सिनाले ट्विटरमा लेखेकी छन्- ‘वाह’ महाअघिवेशन हलभित्र कोमल वलीको बारे बनाइएको गीत?? यो स्तरको आत्मवञ्चनाले कहाँ पुगिन्छ, हँ?'
त्यस्तै, ओली निकटका कार्यकर्ताहरु रहेको युवा संघले ओलीलाई सहयोग पुग्ने गीतहरु राखिएको सिडी वितरण गरेको छ। उनीहरुले महाधिवेशन प्रतिनिधिलाई सिडी वितरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।