सौराहा- एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले एमालेको कमिटीमा आफ्नो उपस्थितिको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बसेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीको सूची बनाउने अधिकार ओलीलाई दिएपछि पूर्वमाओवादी नेताहरुले आफ्नो उपस्थितिको विषयलाई लिएर सक्रियता जनाएको हो।
पूर्वमाओवादी नेताहरुले १९ मध्ये कम्तीमा तीन पदाधिकारी पूर्वमाओवादी पक्षले पाउनुपर्ने दाबी गरेको छ। त्यस्तै, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पनि सम्मानजनक उपस्थिति सुनिश्चित गर्नुपर्ने उनीहरुको भनाइ छ।
तर, ओलीले 'यतिउति चाहियो' भनेर डिमाण्ड नगर्न भनेका थिए। 'तपाईंहरुलाई पनि समेटेर लैजान्छु। सम्मानजनक उपस्थिति हुन्छ,' ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।
भेटमा पूर्वमाओवादीलाई यति नै संख्या दिने भनेर निष्कर्ष ननिस्किएको उनको भनाइ छ।
ओली बसेको होटल पार्क सफारीमा पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा तथा प्रभु साहलगायत गएका थिए। पूर्वमाओवादीमध्येका सबैभन्दा उच्च तहका नेता रामबहादुर थापा बादल भने भेटमा सहभागी थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।