काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत नरहेका युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिने भएका छन्।गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका न्यौपानेले पार्टीले राजनीतिक क्रान्ति गरेपनि नेतृत्वमा क्रान्ति गर्न नसकेकाले उम्मेदवारी दिने बताए।
उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलन गरेका न्यौपानेले भने, ‘आफैं भित्रको क्रान्ति कांग्रेसले गर्न सकेन। १३ वटा अधिवेशनमा नेतृत्व परिवर्तन क्रान्तिका रूपमा भएन। त्यसैका लागि मैले उम्मेदवारी दिन लागेको हुँ।’
४० वर्षीय न्यौपानेले सभापतिको आफ्नो उम्मेदवारीलाई युवा पुस्ताले नै हास्यापद भन्न सक्ने बताए। महाधिवेशनमा जित वा हार जे भएपनि आफ्ना अजेन्डा अंगाल्न भावी नेतृत्व वाध्य हुने उनको बुझाइ छ। ‘जित हार जे पनि हुन सक्छ तर मेरो अजेन्डाको जित हुन्छ। आधारभूत विषय उठाएको छु। विजयी हुनेले त्यसलाई अबलम्बन गर्नै पर्छ,’ उनले भने। सभापतिका प्रत्यासी शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिने भए मात्रै आफूले उम्मदेवारी फिर्ता गर्ने उनले बताए। ‘उहाँ दुईले सभापतिको उम्मेदवारी फिर्ता लिएर अर्को पुस्ताको पक्षमा सहमति गरौं भने मात्रै मैले उम्मेदवारी फर्ता लिन सक्छु।’ न्यौपानेले भने।
सभापतिलाई सुपर पावर बनाउने पद्धतिको अन्त्य पार्टीमा हुुनुपर्ने उनको तर्क छ। टिकट वितरण देखि पार्टीका सबै निर्णय प्रक्रियाको सर्वाधिकार मूल नेतृत्वप्रति दिनुले पार्टीलाई नै क्षति हुने उनले बताए। पूर्ण रूपमा कांग्रेसलाई मास बेस्ड पार्टी बनाउने आफ्नोे उद्देश्य उनले सुनाए।
गोरखा आरुघाटका न्यौपाने चिनमा रहेर व्यवसाय पनि गर्दै आएका छन्। जनसम्पर्क समिति चिनको संस्थापक महामन्त्रीसमेत उनी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।