चितवन– अध्यक्षमा उम्मेदवारी दिने नेता भीम रावलको अडानपछि दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने केपी शर्मा ओलीले चाहनामा सकस देखिएको छ।
ओलीले आफू निकट नेताहरु मार्फत रावललाई मनाउने प्रयास जारी राखेका छन्। यद्यपि, अहिलेसम्म ओली र रावलबीच यसविषयमा कुनै छलफल भइसकेको छैन। तर, ओली निकट एक नेता भने रावलसँग संवाद भइरहेको बताउँछन्।
ओलीले नेता भीम रावललाई उपाध्यक्षमै दोहोरिन निकट नेताहरुमार्फत प्रस्ताव गरेका छन्। तर, रावलले त्यसमा सहमति जनाइसकेका छैनन्। ‘सहमतिका लागि नेताहरु छलफल गरिरहनुभएको छ। उहाँ (रावल) सहमत हुनुभयो भने उपाध्यक्ष बन्नु हुनेछ,’ एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने। ओलीले आफू निकटका नेताहरुमार्फत रावलसँग संवाद गरिरहेको भए पनि ओली र रावलबीचमै भने एक्ला एक्लै यस विषयमा कुनै छलफल हुन सकेको छैन।
रावल निकट एक नेताले भने अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकाले त्यसै अनुसार उहाँले छलफल गरिरहेको बताउँछन्। ‘ओली र उहाँबीच छलफल अहिलेसम्म भएको छैन,’ ती नेताले भने, ‘अरु नेताहरुसँग त नेतृत्व चयनका विषयमा आवश्यक सल्लाह हुने नै भयो।’
ओलीले पनि पहिले निकट नेताहरुमार्फत मनाउन प्रयास गर्ने र नमाने त्यसै अनुसार अघि बढ्ने रणनीति बनाएका छन्। शनिबार महाधिवेशनको हलले अध्यक्ष मण्डलको संयोजकलाई अधिकार दिने निर्णय गरेसँग असहमति राखेका रावललाई जवाफ दिने क्रममा पनि ओली उम्मेदवारी दिने कसैको अधिकार वञ्चित नहुने भन्दै त्यसपछिको परिणाम त सबैलाई थाहा नै होला भनेका थिए। ‘बिहान १० बजे बन्दसत्र भनिए पनि १२ बजेसम्म कार्यक्रम सुरु हुन्छ। त्यस्तै परे तीन बज्न सक्छ,’ एक नेता भन्छन्, ‘अन्तिमसम्म पनि आज सर्वसम्मतका लागि प्रयास त हुन्छ नै।’ बिहानैदेखि अध्यक्ष ओली गृहकार्यमा व्यस्त रहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।