काठमाडौं- पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको उपाधि दाबेदार टोली मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्त नतिजालाई निरन्तरता दिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो। मनाङको जितमा ओलावाले ओलडिपो अफिजले गरेको गोल नै निर्णायक बन्यो।
सुरुआतबाटै आक्रामक खेलेको मनाङले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो। पहिलो हाफमा दुवै टोलीले पाएको केही मौकालाई सदुपयोग गर्न सकेनन्।
खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावालेको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा मनाङ अग्रता लिनबाट चुक्यो। पुजन उपरकोटीको फ्रिकिकमा आफिफको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो।
४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पा अग्रता लिनबाट चुक्यो।
रिवाउन्डमा अलरिच सिवेको हेडरलाई दिनेश राजवंशीले गोललाइनबाट बचाए। ५५औं भारतीय खेलाडी दयानन्द सिंहको क्रसमा एडेलाजा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो।
७१औं मिनेटमा नाकाकुरा रियोको क्रसमा पिस्टोन मुताम्बाले पेनाल्टी बक्सभित्र बललाई नियन्त्रणमा लिँदै गरेको प्रहार आकासियो। ८३औं मिनेटमा निशान लिम्बुको क्रसमा दिपक राईको फ्रि हेडरलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए।
लगत्तै ओलावालेले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए। पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले ‘फ्लिक’ गरेको बललाई ‘अनमार्क’ रहेका ओलावालेले जाली चुमाए। त्यसपछि थप गोल निस्कन नसक्दा मनाङ विजयी हुन सफल भयो।
जितपछि मनाङ २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो।
पहिलो हार बेहोरेको शेर्पाको २ खेलबाट १ अंक छ। शेर्पाले पहिलो खेलमा संकटासँग १–१ गोलको बराबरी खेलेको थियो।
लिगमा आइतबार एक मात्र खेल हुनेछ। नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।