सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका नेताहरु लागेर नेकपा विभाजन गरिएको दाबी गरेका छन्।
चितवनमा जारी पार्टीको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेकपा गठन भएको सुरुकै दिनदेखि एमालेविरुद्ध षड्यन्त्र भएको दाबी गरे।
‘हाम्रैभित्र भड्काउने क्रियाकलाप भए। हाम्रो पार्टी तिनै शृंखलाबद्ध हमलाको सिकार हुँदै गयो,’ उनले भने, ‘पार्टी विभाजन गराइयो। अरुले गरेर हुँदैन थियो, एकीकृत भइसकेका पार्टीका नेताहरु आफैं संलग्न नभएको भए पनि विभाजन भयो।’
उनले नाम नलिए पनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गरेर पार्टी विभाजनको मुख्य कारण उनीहरु भएको आरोप लगाए। उनले सर्वोच्च अदालतको परमादेशमार्फत् सरकारबाट हटाइएको बताए। जनमत हुँदाहुँदै आफूहरुलाई हटाएको उनको दाबी थियो।
‘जनादेशको अभावमा हटेका होइनौं, असफलताका कारण हटेका हैनौं,’ उनले भने, ‘षड्यन्त्र र असंवैधानिक कारणले हटेका हौं।’
नेकपा विभाजन गर्न संलग्न हुनै नहुने शक्ति संलग्न भएको र असंवैधानिक तरिका र जनताको इच्छा र आकांक्षाविपरीत सरकारबाट हटाइएको दाबी ओलीले गरे।
‘अहिले हामी हटेपछि देश अस्थिर भएको छ, ’ उनले भने, ‘देश आर्थिक अनियमिततातर्फ धकेलिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।