सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनुपर्दाको पीडा महाधिवेशन प्रतिनिधिहरुसँग फेरि दोहोर्याएका छन्।
चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफूहरु षड्यन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा पुगेको दाबी गरे।
शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि उनले यही कुरा गरेका थिए। निकै ढिलो गरी शनिबार अपराह्न सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं। प्रतिक्रियवादी षड्यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’
त्यस क्रममा उनले सर्वोच्च अदालतको फैसलाको पनि आलोचना गरे। तत्कालीन प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई उल्ट्याउँदै सर्वोच्च अदालतले गत असार २८ गते उनको कदमलाई असंवैधानिक करार गरेको थियो। र, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।