काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ।
मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।
मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार वेदबहादुर थापाले आपत्ति जनाएका छन्।
उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।
‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट धाँधली गरिएको र त्यसमा मेरो असहमति भएको हुँदा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगन गरी स्वच्छ मतदानको वातावरणमा निर्वाचन गराउनु अनुरोध छ,’ उनले निर्वाचन समितिलाई बुझाएको पत्रमा भनिएको छ।
गुल्मीमा सभापतिका लागि संस्थापनपक्षबाट थापा र संस्थापनइतर पक्षबाट खिलध्वज पन्थी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।