तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
सौराहा (चितवन)- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको उम्मेदवार हुनेमा दृढ नै रहेको बताएका छन्। शनिबार बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्षमा आफ्नो उम्मेदवारीको दरखास्त पर्ने दोहोर्याए।
'अध्यक्ष पदमा विभिन्न कारणहरू दर्साएर उम्मेदवारी घोषणा गरेको छु। त्यसमा कायम छु। त्यसमा दृढ छु', उनले भने।
पार्टीको कुनै पनि निकायमा संस्थागत रुपमा सर्वसम्मतिबाट नेतृत्वको चयन गर्ने भन्ने निर्णय नभएको र सहमति पनि नभएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीले सहमति खोज्न गरेको प्रयासबारे आफूलाई कुनै जानकारी नभएको रावलको भनाइ छ।
'जबजमार्फत् एमालेले स्वच्छ प्रतिस्पर्धा र नेताहरूले पार्टीबाट अनुमोदित भएर जानुपर्ने र राज्य चलाउनेहरुले जनताबाट अनुमोदित भएर जानुपर्ने सिद्धान्त अपनाएको छ', रावलले भने, 'त्यसैले अध्यक्षको उम्मेदवारको मैले पहिले नै घोषणा गरिसकेको छु। मनोनयनको नामांकन पेस गर्ने बेलामा मैले दरखास्त दिन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।