काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआतदेखि नै ‘फिजिकल’ बनेको खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलको पहिलो हाफमा एपीएफविरुद्ध आक्रमक खेल प्रदर्शन गरेपनि तालमेलको कमी र फितलो प्रहारका कारण च्यासलले अग्रता लिन सकेन। यता, बढी रक्षात्मक देखिएको एपीएफले पनि पहिलो हाफमा पाएको केही सुनौलो मौकालाई सदुपयोग गर्न भने सकेन।
च्यासलले दोस्रो हाफमा बढी नै रक्षात्मक भएपनि एपीएफको डिफेन्सलाई चिर्दै गोल गर्न सफल भयो। उसका लागि रुमेश बर्तौलाले गरेको एक मात्रै गोल महत्त्वर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो। योसँगै यसअगाडि उपाधि दाबेदार थ्रीस्टार क्लबसँग ३-० गोल अन्तरले पराजित भएको च्यासलले अंक तालिकामा ३ अंक जोडेको छ।
यता, एपीएफले भने लगातार पराजय भोगेको छ। एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
खेलको १०औं मिनेटमा च्यासलका मिडफिल्डर रुमेश बर्तौलाले एपीएफका डिफेन्डर मानबहादुर राना मगरलाई ‘फउल’ गरेपछि पहेंलो कार्ड पाएका थिए। उडेको बललाई हेडर गर्न लाग्दा रुमेशले सिधै मानबहादुरको अनुहारमा टाउकाले प्रहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले कार्ड देखाएका थिए।
यस्तै, १३औं मिनेटमा मानबहादुरले पनि पहेंलो कार्डको सामना गरे। उनले च्यासलका डिफेन्डरलाई खराब ‘ट्याकल’ गर्दै लडाएपछि उनलाई पनि रेफ्रीले कार्ड देखाए।
१७औं मिनेटमा च्यासलले अग्रता लिने मौका खेर फ्याल्यो। उसका मिडफिल्डर अजित गुरुङले डिबक्स बाहिरबाट गरेको फितलो प्रहार एपीएफका गोलरक्षक राज योगीले ‘ड्राइभ’ गर्दै बचाए।
यस्तै, २४औं मिनेटमा एपीएफले अर्को सुवर्ण मौका खेर फाल्यो। च्यासलका अभिषेक लिम्बुले एपीएफका मिडफिल्डर नवीन लामालाई लडाएपछि रेफ्री प्रज्वलले फ्रीकिक दिएका थिए। तर, नवीनले करिब २५ यार्डबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्की नजिक पुग्नुअघि नै च्यासलका डिफेन्डरले ‘क्लिएर’ गर्दिए।
२७औं मिनेटमा पुन: अर्को मौका च्यासलका क्यामरुनका डिफेन्डर केचा यानिकले एपीएफका फरवार्ड आवास लामिछानेलाई ‘फउल’ गरेपछि फ्रीकिक पाएको थियो। तर, नवीनको फ्रीकिकमा श्यामकुमार नेपालीले बनाइदिएको मौकालाई आषिश लामाले बल ‘कनेक्ट’ गरेर हेडर गर्न सकेनन्।
४१औं मिनेटमा च्यासलले अर्को मौका खेर फाल्यो। कमल श्रेष्ठको कर्नर प्रहारमा ‘अनमार्क’ रहेका इटालियन खेलाडी विकाश मिराग्लियाले बल ‘कनेक्ट’ गरेका थिए। उनको ‘लो हेडर’ एपीएफका डिफेन्डरलाई लागेर आएको बललाई च्यासलका फरवार्ड सुशन लामाले गोलरक्षक राजु ‘बिट’ भइसकेको अवस्थामा प्रहार गरेपनि शनिस श्रेष्ठले ‘क्लियर’ गर्दिए।
४९औं मिनेटमा च्यासलले अग्रता बनायो। कमल श्रेष्ठले डिबक्स बाहिरबाट दिएको पासलाई बर्तौदलाले एपीएफका डिफेन्डर गणेश बुढाथोकीलाई ‘बिट’ गर्दै प्रहार गरेको बललाई गोलरक्षक राजुले बचाउन सकेनन्।
५७औं मिनेटमा कमलले दिएको लामो पासलाई केचा यानिकले सदुपयोग गर्न सकेनन्। ‘राइट साइड’मा ‘अनमार्क’मा रहेका केचाले गरेको प्रहार आकासिएको थियो। त्यसपछिका अधिकांश समय दुवै टोलीबाट गतिलो ‘मुभ’ भन्ने बन्न सकेन।
दोस्रो हाफको अतिरिक्त समयमा केचाले मध्यभागबाट गरेको फ्रीकिक प्रहार एपीएफको डिबक्स भित्र प्रवेश गर्न पाएन।
थप गरिएको दोस्रो मिनेटमा एपीएफका डिफेन्डर दिपेश धिमालले करिब ३० यार्डबाट गरेको प्रहार च्यासलका गोलरक्षक अर्पणले सहजै पञ्च गरेर बचाइदिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।