सौराहा (चितवन)– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ। बिहान १० बजे हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेपनि उनकै समूहभित्र रहेका नेताहरूको व्यवस्थापनमा समस्या भएको छ।
शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले उपाध्यक्षको संख्या ६ पुर्याउने, उपहासचिव तीन पुर्याउने र केन्द्रीय कमिटीको संख्या ३०१ पुर्याउने निर्णय गरेपनि आकांक्षी नेताहरू धेरै हुँदा समस्या भएको छ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् भने महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले आकांक्षा देखाएका छन्।
आफ्नै समूहभित्र समस्या परेपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिएका उपमहासचिव घनश्याम भुसाललाई एक्लाएक्लै भेट्ने कार्यक्रम पनि स्थगित भएको छ।
यसअघि ओलीले रावल र भुसालसँग भेटघाटका लागि कुरा गरेका थिए। तर, आन्तरिक व्यवस्थापन नै सकसपूर्ण भएपछि रावल र भुसाललाई नभेटेर ओली बन्दसत्र स्थल पुगेका छन्। यद्यपि, बन्दसत्र सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।