काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। उनले त्यसका लागि फेसबुकमार्फत् मत मागेका छन्।
शनिबार उनले सार्वजनिक गरेको फोटोमा नारा लेखिएको छ- दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ। सामूहिकता, विधि र विचारसहितको नेकता एमालेको पुनरोदय गरौँ।
भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर, आफू निकटका नेताहरुबाट 'सुरक्षित पद'का लागि तयारी गर्न दबाब बढेपछि उनी पछि हटेका थिए।
एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ। असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।