सौराहा– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन जारी छ। सौराहामा बन्द सत्र हुने भनिएपनि अहिलेसम्म सुरू हुन सकेको छैन।
पदाधिकारी सर्वसम्मत चयन गर्न गरिएको प्रयास सफल हुन सकेको छैन। जसका कारण बिहान १० बजे भनिएको बन्द सत्र हुन सकेको छैन। यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओली भने बन्द सत्र स्थल पुगिसकेका छन्।
उनी बन्द सत्र पुग्दा युवा संघ नेपालका नेता कार्यकर्ताले केपी ओली आई लभ यू र जिन्दावादका नारा लगाएका थिए।
उनका समर्थकहरुले अहिले पनि नाराबाजी गरिरहेका छन्। उनीहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने भनिरहेका छन्।
पदाधिकारीमा सहमति जुटाउन शीर्ष नेताहरू छलफलमा जुटे पनि सहमति जुटन सकेको छैन। केन्द्रीय सदस्यमा पनि सर्वसम्मत नहुने स्थिति देखिन्छ।
त्यसैकारण पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णयमा पुगेका नेताहरु भोट माग्न व्यस्त भएका छन्। खुल्ला, महिला, समावेशी लगायत विभिन्न कलष्टरबाट उम्मेदवार बन्ने तयारीमा रहेका उनीहरुले प्रतिनिधिलाई भेटेर आफूलाई भोट गर्न आग्रह गरिरहेका छन्।
नवौं महाधिवेशनबाट नै केन्द्रीय सदस्यमा निर्वाचित भएकादेखि नयाँ अनुहारहरू अहिले केन्द्रीय सदस्य बन्न चाहिरहेका छन्। त्यसै अनुसार उनीहरु सर्वसम्मत भए सर्वसम्मत नभए चुनावी प्रतिस्पर्धामा होमिलने तयारीमा छन्।
केन्द्रीय सदस्यको आकांक्षा राखेकाहरुले मेसेज, फेसबुक र प्रत्यक्ष भेटेर अहिले प्रचार गरिरहेका छन्। तर, यस पटकको महाधिवेशनमा कुनै पनि उम्मेदवारले पर्चा पम्पलेट लगायतका प्रचार सामग्री प्रयोग गरेको देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।