चितवन- नेकपा (एमाले)को चितवनमा जारी १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षीको व्यवस्थापनमा परेको सकस पार लगाउन नयाँ प्रस्ताव तयार भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँगको छलफलका आधारमा यो प्रस्ताव तयार पारेका हुन्। प्रस्ताव अनुसार एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउन खोजिएको छ। एमालेको विधान महाधिवेशनले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने तय गरेको थियो।
त्यसैगरी एमालेले गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट हटाइएको पोलिटब्यूरोको संरचना ब्युँताउने प्रस्ताव तयार गरिएको छ। एमालेमा यसअघि स्थायी कमिटीभन्दा ठिक मुनि पोलिटब्यूरो रहे पनि त्यसलाई हटाइएको थियो।
एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी नेताहरुको पदीय व्यवस्थापनका लागि विधान नै संशोधन गर्नुपर्नेसम्मको आवाज उठेपछि यस्तो प्रस्ताव तयार भएको एक नेताले बताए। विधान संशोधनका लागि अन्तिम केन्द्रीय कमिटी बैठकले निर्णय गरेर जारी महाधिवेशनको बन्दशत्रमा प्रस्ताव लैजान सक्छ।
यो प्रस्ताव शुक्रबार राति बस्ने एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा पेस गर्ने तयारी छ। तर, ८ बजे बस्ने भनिएको बैठक अझै बसेको छैन।
यो प्रस्तावबारे बुझ्न खोज्दा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले यसबारे छलफल भइरहेको नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।