चितवन- नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट अन्तिमसम्म सहमतिमै नेतृत्व चयन हुने दाबी गरेका छन्।
सौराहामा ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्नुअघि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्षमा उम्मेदवारी दिन लागेका उपाध्यक्ष भीम रावलले त्यसका बारेमा कुनै सरसल्लाह नगरेको पनि उनले जानकारी दिए।
'अहिलेको परिस्थितिमा सहमतिको अरु विकल्प छैन,' उनलेे भने, 'जसरी पनि नेतृत्व सहमतिमा नै चयन गर्नुपर्छ।' उनले एमालेलाई एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको भन्दै सबैको ध्यान यसैमा हुनुपर्ने बताए।
हिजो भएको १० बुँदे सहमति वा अन्य कुनै सहमतिको अर्थ नरहेको, नयाँ परिस्थिति निर्माण भइरहेको भन्दै उनले अब अगाडी बढ्नुपर्ने बताए।
उनलेे एमाले जटिल परिस्थितिबाट गुज्रिएको भन्दै देशभरबाट आएका प्रतिनिधिको पनि चाहना त्यस्तै रहेको बताए। आफ्नो उम्मेदवारीका बारेमा भने अहिले केही नबोल्ने उनले बताए।
'सहमति भइहाले मेरो जिम्मेवारी के भन्ने नेतृत्वले बुझेको छ,' उनलेे भने, 'उम्मेदवारी दिनुपर्ने परिस्थिति आए त्यसै अनुसार जान्छु।' अहिले उम्मेदवारी दिएका विभिन्न नेताहरुले पनि हतारोमा गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।