काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
शुक्रबारदेखि चितवनमा सुरु भएको महाधिवेशनका लागि भुसालले उपाध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
भुसालले यसअघि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको बताएका थिए। आफ्नो टिमका सदस्यहरुसँगको सल्लाहमा अब उपाध्यक्षको उम्मेदवार बन्ने निधो गरेको भुसालले बताए।
एमाले महाधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु हुँदैछ। त्यसपछि मात्र एमालेको नयाँ नेतृत्वका लागि विभिन्न पदमा मनोनयन हुनेछ।
एमालेले आफ्नो विधानमा चार जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ।
एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पनि भइरहेको छ। सर्वसम्मत हुन नसकेमा शनिबार नै उम्मेदवारको मनोनयन दर्ता हुनेछ र आइतबार त्यसमा मतदान गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।