काठमाडौं– संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लबमाथि पूनरागमन जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै संकटाले २–१ गोल अन्तरको जित हात पारेको हो।
संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गरे। यता, फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले एक गोल गरे। पहिलो हाफमा संकटाको केही प्रहारमा गोलरक्षक राहुल रामचन्द्र यादव बाधक बन्दा संकटाले गोल गर्न सकेन।
त्यसअघि १८औं मिनेटमा कर्नरबाट आएको बलमा फोडे फोफानाको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो। सुभास गुरुङकै कर्नरमा फोफानाकै प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदा गोलरक्षक राहुल रामचन्द्र यादवले अघि बढ्दै बचाए।
४१औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले दोस्रो बार च्याप्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो।लगत्तै कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए।
निसेन सुब्बाको पासमा प्रकाशले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नरमा लाग्दै गोलमा परिणत भएको थियो।
५७औं मिनेटमा निरज बस्नेतले संकटालाई खेलमा फर्काए। सुभास गुरुङको कर्नरमा बिना मार्क रहेका निरजले हेडरमार्फत् बललाई जाली चुमा।
७०औं मिनेटमा फोडे फोफानाको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक राहुलले पञ्च गर्दै बचाए।
८७औं मिनेटमा फोडे फोफानाले गोल गर्दै संकटालाई २–१ को पूनरागमन जित दिलाए।
जितसँगै संकटाको २ खेलबाट ४ अंक जोडेको छ। पराजित फ्रेन्ड्सको समान खेलबाट १ अंक छ। यसअघि फ्रेन्ड्सले सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने संकटाले हिमालयन शेर्पासँग १–१ गोलमा रोकिएको थियो।
दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
लिगमा शनिबार दुई खेलमा प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा च्यासल युथ क्लब र विभागिय टोली एपीएफ फुटबल क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ–मर्स्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ र ४ः४५ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।