तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काम गर्न नदिनेहरू नै प्रधानमन्त्री शेरबहादुर देउवाको साथमा रहेको टिप्पणी गरेका छन्।
शुक्रबार चितवनमा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई मैले धेरै भन्न चाहन्न। मलाई अप्ठ्यारो पार्नेहरुले नै तपाईंको खुट्टा तान्न लाग्नुभएको छ।’
ओलीले माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै उक्त विषय उल्लेख गरेका थिए। काम गर्ने चाहना प्रधानमन्त्रीमा भएपनि उनीहरुले (प्रचण्ड–माधव पक्षले) असहयोग गरेको हुनसक्ने ओलीको भनाइ छ।
उनले देउवालाई भने, ‘एउटा गोप्य कुरा प्रधानमन्त्रीसँग खुलाउनै पर्ने भयो। एमालेले बहुमत ल्याउँछ। विकासका बाँकी रहेका काम चुनावपछि आउने एमाले सरकारले गर्छ।’
तीनै तहमा बहुमत ल्याउने दाबी गर्दै ओलीले स्थानीय तहमा ५० प्रतिशत भन्दा बढी स्थानमा जित निकाल्ने दाबी गरे। ओलीले अतिथि बोलाएर देउवाका विषयमा थप टिप्पणी गर्नु वाञ्छनीय नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।