'लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ,' उनले भने।
शुक्रबार चितवनको नारायणी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले नयाँ संविधानमार्फत् लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेवार राजनीतिक दलको रुपमा भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे।
प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ:
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षज्यू,
विभिन्न राजनीतिक दलका नेता साथीहरु। सबैमा मेरो हार्दिक हार्दिक जयनेपाल।
सर्वप्रथम लोकतान्त्रिक संसदीय शासन पद्धतिको मर्मअनुरुप १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्नुभएकोमा नेकपा एमालेलाई बधाइ दिदैं महाधिवेशनको पूर्ण सफलताको कामना गर्छु।
नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं। हामी सबै मिलेर संविधान सभाबाट नयाँ संविधान ल्याएका छौं। यसलाई संस्थागत गरी बलियो बनाउने जिम्मेवारी पनि नेपालका सबै राजनीतिक दलहरुमा छ। नयाँ संविधानमार्फत् लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह गर्न चाहन्छु। हामीबीच मतभिन्नताहरु छन्। त्यसैले हामी अलगअलग दलमा छौं।
तर, लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न देशलाई समृद्ध बनाउने हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ।
देश र जनतासँग जोडिएका मुद्दाहरुमा समान धारणा हुनुपर्छ। हामीबीच निरन्तर छलफल, सम्बाद हुनुपर्छ। हामी दलहरुबीच छलफल, सम्वाद र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्न चाहन्छौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जी लगायत हामी जेलका साथीहरु हौं। जेल मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं। हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकारले यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।
सबै नागरीकलाई खोप पुर्याउनु हाम्रो कर्तव्य हो। सबैको सहयोगले सरकारले यो लक्ष्य हासिल गर्दैछ। नागरिकको जीवनरक्षा गर्ने कार्यमा सबै राजनीतिक दल र सामाजिक संस्थाहरुको भूमिका अग्रणी छ। कोरोना भाइरसको संक्रमण अहिले न्यूनीकरण भएको छ। देशमा सुशासन, समृद्ध कायम गर्न मेरो पार्टी कटिबद्ध छ। सबै दलसँग सहकार्य गरेर अघि बढ्छु। नेकपा एमालेको १०औं महाधिवेशनको सफलताको कामना गर्छु। धन्यवाद।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।