नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदैछ। तर, यो महाधिवेशनमा एमालेलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन ठूलो परिश्रम गरेका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरू हुने छैनन्। नेपाल, खनाललगायत नेताहरूले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका छन्।
एमाले परित्याग गरेका गौतम भने अहिले कुनै पनि दलमा सक्रिय छैनन्, ‘नेकपा एकता राष्ट्रिय अभियान’का नाममा गतिविधि चलाइरहेका छन्। सबैजसो पार्टीहरूलाई महाधिवेशन उद्घाटन समारोहमा बोलाएइपनि एमालेले एकीकृत समाजवादी र गौतमलाई भने निमन्त्रणा गरेन। केही समय अघिसम्म एमालेका उपाध्यक्ष रहेका गौतमसँग एमाले महाधिवेशन र उनका अबका योजनामा केन्द्रित रहेर नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :
तपाईं कुनै हिसाबले एमाले महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ?
म अहिले एमालेमा छैन नि! एमालेमै नरहेकाले आफैं जाने कुरा भएन। मलाई महाधिवेशनमा बोलाएका पनि छैनन्। फेरि, म पार्टीमै नभएकाले पनि उहाँहरुले महत्त्व दिने कुरा भएन।
तपाईं एमालेमा पनि बस्नुभएन, एकीकृत समाजवादीमा पनि जानु भएन। अब के गर्नुहुन्छ?
म यसबारे सोचविचार गर्दै छु। सम्भवतः एकता अभियानलाई नै निरन्तरता दिनेछु। हामी त्यसको पहिलो सम्मेलन आयोजना गर्दैछौं। त्यहीँबाट छलफल गरेर छुट्टै पार्टी खोल्ने वा अरुसँग एकता गर्ने भन्ने विषयमा निर्णयमा पुग्छौं। यो मंसिर महिनाभित्रै सम्मेलन आयोजना गरेपछि यसबारे केही भन्न सकिएला।
एमालेलाई अहिलेको स्थितिसम्म ल्याइपुर्याउन तपाईंको पनि ठूलो योगदान छ। आफूले पसिना बगाएको पार्टीबाट अलग्गिएर, अहिले छुट्टै समूह बनाएर जाँदा कस्तो महसुस हुँदोरहेछ?
मलाई त त्यस्तो केही लाग्या छैन। जिन्दगीभरी आमा बाउले दुःख गर्छन्, कमाउँछन्। जग्गा, जमिन र पैसा जोड्छन्। छोरा हुर्केर ठूलो भएपछि कतिपयले बाउ आमालाई घरबाटै निकाल्छन्। कोही बस्न नसकेर आफैं घरबाट बाहिर निस्कन्छन्। कुनै तरिकाले बाँच्ने कोसिस गर्छन्। मेरो पनि एमालेमा त्यस्तै भयो।
तपाईं माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू नहुँदा केपी ओलीले कस्तो एमाले बनाउलान्?
म त्यस्तो अवस्थामा थिइनँ। तत्कालीन नेकपालाई सर्वोच्च अदालतले विभाजन गरेपछि एमाले र माओवादी जेठ २ गतेको अवस्थामा पुगे। अदालतको यस्तो निर्णय मैले परिकल्पना समेत गरेको थिइनँ। मेरो विचारमा संसारमा यस्तो निर्णय कहीँ पनि भएको छैन होला। सर्वोच्चले पार्टी फुटाउने, जुटाउने समेत गर्न सक्दो रहेछ।
एकता भइसकेको पार्टीलाई फेरि पूर्ववत् अवस्थामा फर्काउन सकिन्न नि, होइन? त्यो पूर्ववत् अवस्थामा फर्काउने भनेको मलाई ५० वर्षको उम्मेरमा फर्काए जस्तै हो। कसैले मलाई ५० वर्षको उमेरमा फर्काउन सक्छ? सक्दैन नि। तर, सर्वोच्च अदालतले त फर्कायो। किन फर्कायो थाहा छैन। तर, त्यस निर्णयले केपी ओलीलाई निरंकुश बनायो। त्यसपछि उहाँले आफ्नो मात्रै गुटको भेला गरेर सम्पूर्ण अधिकार आफूमा केन्द्रित गर्नुभयो। त्यो निर्णयले पार्टीमा मेलमिलापको स्थिति समाप्त गर्यो।
तपाईं न एमाले रहनुभयो न एकीकृत समाजवादीमा जानुभयो। तपाईंका आलोचकहरू त ‘वामदेवको न टेक्ने भूँइ न समाउने हाँगो भयो’ भन्छन् नि?
म यस्तो भएकोमा कोही खुशी भए भोज भतेर गरे भइगो नि। कसैले त्यस्तो भन्छ भने उनीहरु खुशी छन् भन्ने बुझ्नु पर्यो। मलाई यस्तो भनिन्छ भने जस्तो सोच्नु भएको थियो त्यस्तै भयो। फेरि किन यस्तो भयो भनेर प्रचार गर्नुपर्यो? तपाईं भन्नुहुन्छ भने म विचारमग्न छु। मैले कुनै निष्कर्ष निकालिसकेको छैन। निष्कर्ष निकाल्ने प्रयत्न हुँदैछ। मैले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरेको छु। त्यो अभियान अहिले पनि छ। त्यसको बैठक निकट भविष्यमा बोलाउँदै छु। त्यो बैठकबाट केही निर्णय गर्दैछौं।
वामदेव गौतम राजनीतिमा असाध्यै सक्रिय पात्र भनेर चिनिन्थ्यो। पछिल्लो समय किन यस्तो चुपचाप र निष्क्रिय बन्नुभो नि?
मैले पार्टी बनाइसकेको छैन। यसो आराम पनि गर्नुपर्यो। अर्को कदम चाल्दा सोचेर, बुझेर र विचार पुर्याएर चाल्नु पर्ला। त्यही भएर कम सक्रिय भए जस्तो भयो।
अब तपाईं एमालेमा जोडिने सम्भावना बाँकी छ कि सिद्धियो?
एमाले भनेकै अहिले केपी ओली भने जस्तो छ। एमालेमा केपी ओली हुँदासम्म म त्यहाँ जोडिने सम्भावना छैन। मैले त्यस्तो सम्भावना पटक्कै देखेको छैन। हामी नहुँदा केपीजीलाई मजा भएको छ नि। उहाँ त सुरुको राजनीतिक कालदेखि नै निरंकुश कार्यशैली मन पराउने व्यक्ति हो।
आफूलाई साथ सहयोग गर्नेलाई कहिल्यै राम्रो नचिताउने स्वभाव उहाँमा रहेछ। उहाँ सकेसम्म आफ्नो नजिक भएकालाई दास बनाउने, नसके उपयोग गर्नु हुँदो रहेछ। आफूसँग भएका तर, भनेको नमान्नेलाई अनेक जालझेल, षड्यन्त्र गरेर लखेट्ने बानी रहेछ। त्यस्तो स्वभाव भएकाले आफ्नो निकटलाई कहिलै विश्वास गर्दैनन्। पार्टीमा सामूहिक निर्णय गर्न नरुचाउने, एक्लै निर्णय गर्न रुचाउने, आफूलाई मन परेको निर्णय गर्न लगाउने र पार्टीमा छलफल, बहस गर्न नरुचाउने गर्नुहुँदो रहेछ। कम्युनिस्ट पार्टीमा सामूहिक निर्णय गर्नुपर्छ भनिन्छ। तर, उहाँको हकमा त्यसो होइन रहेछ। यो सबै शिक्षा लिएर अब हामी अघि बढ्नु पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।