काठमाडौं– एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ जना हुने भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा उद्घाटनस्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका संयोजक योगेश भट्टराईले प्रतिनिधिको संख्याबारे जानकारी दिएका हुन्।
‘महाधिवेशनमा कुल २१७५ जनाको सहभागिता हुनेछ। भुगोलबाट, जनसंगठनबाट, विभागबाट, सम्पर्क कमिटीहरुबाट र प्रवासका कमिटीहरुबाट निर्वाचित र केन्द्रीय कमिटीबाट १०६ जना गरी २१७५ जनाको प्रतिनधित्व हुनेछ’, उनले भने, ‘१०३ जना पर्यवेक्षक हुनुहुन्छ।’
कुल प्रतिनिधिमा ६२७ जना महिला प्रतिनिधि हुने उनले जानकारी दिए। ‘यो नेकपा एमालेको इतिहासमा मात्रै होइन कि अरु दलको इतिहासमा पनि यो संख्याको महिला प्रतिनिधित्व पहिलो हो भन्ने मलाई लाग्छ। हामीले केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाहरुको सिट सुनिश्चित गरेका छौं,’ उनले भने।
दलित उत्पीडित समुदायबाट २०९ जना प्रतिनिधिले भाग लिने भट्टराईको भनाइ छ। ‘नेकपा एमाले एकदमै समावेशी छ। सबै क्षेत्र र लिंग समुदाय लगायतको प्रतिनिधित्व नेकपा एमालेमा हुनेछ। र यो एउटा समावेशी पार्टी राष्ट्रिय चरित्रको पार्टीको रुपमा रहनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।