काठमाडौं– स्पेनिस क्लब रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
गएराति सम्पन्न खेलमा सेरिफमाथि सहज जित निकाल्दै रियल अघिल्लो चरणमा पुगेको हो। घरेलु टोली सेरिफ ३–० ले पराजित भएको हो। हारसँगै सेरिफको नकआउट चरण पुग्ने सम्भावनासमेत सकिएको छ।
रियलको जितमा डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे। खेलको पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो।
रियलले खेलको ३०औं मिनेटमा गोलको खाता खोलेको थियो। डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। त्यसपछि ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए। उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए। त्यसपछि कुनै टोलीबाट थप गोल हुन नसक्दा रियल विजयी बनेको हो। गत सेप्टेम्वरमा रियल घरेलु मैदानमा २–१ ले स्तब्ध बनेको थियो।
यो जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ। पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ।
यही समूहको अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। इन्टरको जितमा दुवै गोल इडेन जेकोले गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।