काठमाडौं- यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न समूह चरणको खेलमा युभेन्टसले साविक विजेता चेल्सीलाई ४-० को नतिजा सुम्पियो।
घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वार्नरले गोल गरे।
सन् १९५८ मा वेनर स्पोर्ट क्लबलाई ७-० को नतिजा सुम्पिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा भोगेको यो नै सबैभन्दा ठूलो हार हो। यस्तै, पछिल्लो १७ वर्षमा युभेन्टसले ४-० को हार व्यहोरेको पनि यो पहिलो पटक हो।
चेल्सीसँग हार व्यहोरे पनि युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले उक्त नतिजाबाट आफू निराश नभएको प्रतिकृया दिएका छन्।
एलेग्रीले भने, 'म खेलाडीहरुसँग रिसाएको छैन। हामीले चार गोल खायौं, त्यसप्रति भने म निराश छु। हाम्रो नकआउट चरण प्रवेशको लक्ष्य पूरा भैसकेको थियो।'
उनले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन नगर्दा नतिजा फरक आएको पनि बताए।
चेल्सीको खेलको २५औं मिनेटमा ट्रिभोअ चालोवाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो। उनले एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए।
५५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसलगत्तै ५८औं मिनेटमा कलुम हड्सनले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए।
इन्ज्युरी समयको अन्तिमतिर मिनेटमा वैकल्पिक फरवार्ड टिमो वार्नरले गोल गरेसँगै चेल्सी ४–०ले विजयी बन्यो।
समूह 'एच' बाट युभेन्टस र चेल्सी यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो। त्यस्तै, युभेन्टसमाथिको जितपछि चेल्सी शीर्षस्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।