काठमाडौं– सन् २०११ देखि व्यावसायिक फुटबल खेलिरहेका मिडफिल्डर विक्रम लामा यतिखेर थ्रीस्टार क्लबको कप्तानी भूमिकामा छन्।
उनकै कप्तानीमा शनिबार त्रिपुरेश्वरस्थिति दशरथ रंगशालमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० ले हराउँदै उत्कृष्ट सुरुवात गर्यो।
योसँगै विक्रम १२ महिनापछि मैदान फर्किएका छन्। २०७४ सालमा धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिसविरुद्ध खेल्दा उनको दायाँ खुट्टा भाँच्चिएको थियो। लगत्तै उनको काठमाडौंमा उनको शल्यक्रिया गरिएको थियो।
शल्यक्रिया गरेको ९ महिनापछि उनी फेरि मैदान फर्किएका थिए। तर,गत वर्षको नोभेम्बरमा बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनको चोट बल्झियो। उक्त खेल खेल्दा उनको दायाँ खुट्टामा समस्या देखिएको थियो।
त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा उनको खुट्टामा राखिएको सपोर्ट निकालेर शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि दोहामा उनी ५ महिना बसे।
उनी शनिबार पहिलो पटक मैदान उत्रिएका हुन्। १२ महिनाको लामो रिह्यावपछि मैदान फर्कन पाएकोमा खुसी लागेको उनले बताएका छन्। ‘आज १२ महिनापछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबलमा फर्कन पाउँदाको सुखानुभूति शब्दमा वर्णन गर्न सकिरहेको छैन। सधैं साथ दिनुहुने नेपाली फुटबल प्रेमीबाट यति लामो समय मैदान बाहिर रहँदा तपाईंहरुको अमूल्य साथ, माया, शुभेक्षा मेरा लागि सधैं हौसलाले भरिपूर्ण र विशेष रह्यो,’ उनले सामाजिक सञ्जालमा लेखेक छन्।
उनले मैदान बाहिर रहँदाको पाएको साथ सदैव स्मरण रहने बताउँदै आगामी खेलमा सक्दो मिहिनेत गर्ने बताएका छन्। ‘त्यो निकै कठिन समयमा पाएको साथ सदैव स्मरण रहनेछ। यहाँहरुको माया र साथलाई म मैदानभित्र सक्दो मिहिनेत गरेर न्याय गर्ने प्रयास गर्नेछु। यो अनवरत यात्राका सुखद् पानाहरुमा अब हामी साथ यात्रा गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले लेखेका छन्।
सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यु गरेका ३१ वर्षीय विक्रम आफू अझै ५ वर्ष फुटबल खेल्न सक्ने बताउँछन्। कतार पुगेपछि अन्य विभिन्न आवश्यकीय जाँच गराउँदा आफ्नो शारीरिक अवस्था राम्रो रहेको पाएको र यही स्तरमा शरीरलाई ‘मेन्टेन’ गर्न सके आफूले सजिलै ३५ वर्षसम्म खेल्न सक्ने उनको आत्मविश्वास छ।
विक्रम राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर हुन्। उनले ३१ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सन् २०१९ मा नेपालमा भएको साग गेम्समा नेपालले फुटबलतर्फ स्वर्ण जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।