काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग पराजित भएको छ। १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु टोली वाट्फोर्डसँग ४–१ को हार बेहोरेको हो।
वाट्फोर्डको जितमा जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरेका थिए। युनाइटेडका डोनी भान डि विकले एक गोल फर्काए। खेलको २८औं मिनेटमा जोसुआ किङले इमानुएल डेनिसको पासमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए।
खेलको ४४औं मिनेटमा इस्माइला सारले किकोको पासमा गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ५०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा डोनी भान डि विकले हेडरमार्फत गोल गर्दै खेल २–१को स्थितिमा ल्याए।
तर, ६९औं मिनेटमा ह्यारी मगाएर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेडले थप दुई गोल खाऐको थियो। खेलको इन्ज्युरी समयमा जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरे।
जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।