काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको पाटन डर्बी भिडन्तमा थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा थ्रीस्टारलाई जिताउन उसका स्टार निशान खड्का, राफायल बिडियास रिम र अनन्त तामाङले समान १/१ गोल गरे।
२०औं मिनेटसम्म खेलमा पकड जमाएको पनि इटालीयन खेलाडी विकास मेराग्लियाले पेनाल्टी चुकाउँदा च्यासलले प्रेसरको सामना गर्नुपरेको थियो।
अनन्तले विकासलाई डिबक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिएका थिए। तर, ए डिभिजन लिगमा यही खेलबाट डेब्यू गरेका विकासले गोल गर्न सकेनन्। विकासले लेफ साइडमा प्रहार गरेको ग्रास बललाई थ्रीस्टारका गोलरक्षक प्रिसोले ड्राइभ गर्दै सहजै जोगाए।
खेलपछि विकासले सामाजिक सञ्जालमार्फत् टोलीका सदस्य, क्लब र समर्थकहरूसँग माफी मागेका छन्।
‘मलाई थाहा छैन कहाँबाट सुरु गरौं। मैले यस समयमा के फिल गरिराछु भनेर व्यक्त गर्ने शब्द छैन,’ उनले लेखेका छन्, ‘म मेरो टिम मेम्बर, क्लब र समर्थकहरूसँग आजको खेलको रिजल्टको लागि क्षमा माग्छु। मैले भन्न सक्ने भनेको नै ‘आई एम सरी’ हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।