काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पाटन डर्बीमा थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा थ्रीस्टारले च्यासललाई ३-० गोल अन्तरले पराजित गर्दै सानदार जित हात पारेको हो।
थ्रीस्टारको जितमा उसका स्टार निशान खड्का, राफायल बिडियास रिम र अनन्त तामाङले समान १/१ गोल गरे।
खेलको २०औं मिनेटसम्म खेलमा पकड जमाएको च्यासलका विकास मेराग्लियाले पेनाल्टी चुकाउँदा प्रेसरको सामना गर्नुपरेको थियो।
त्यसअघि खेलको १३औं मिनेटमा कमल श्रेष्ठले थ्रीस्टारका डिफेन्डर राफेलबाट बल खोस्दै अगाडि बढाएका थिए। तर, डिबक्सभित्र बल प्रवेश गर्नुपूर्व नै अग्ला कदका राफेलले खराब ट्याकल गर्दै कमललाई लडाइदिए।
त्यसलगत्तै पाएको फ्रिकिकलाई च्यासलका अजित गुरूङले सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहार थ्रीस्टारका गोलरक्षक प्रिसोले सहजै नियन्त्रणमा लिए।
खेलको २०औं मिनेटपछि थ्रीस्टारले च्यासलको बलियो डिफेन्सलाई तोड्यो। २१औं मिनेटमा यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्रीस्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशान खड्काले करिब २५ यार्डबाट राइट साइडमा गरेको प्रहारलाई बचाउन च्यासलका गोलरक्षक प्रदीप भण्डारीले कुनै मौका पाएनन्।
२६औं मिनेटमा च्यासलले अर्को मौका गुमायो। अनन्तले विकासलाई डिबक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिएका थिए।
तर, ए डिभिजन लिगमा यही खेलबाट डेब्यू गरेका इटालियन खेलाडी विकासले गोल गर्न सकेनन्। विकासले लेफ साइडमा प्रहार गरेको ग्रास बललाई प्रिसोले ड्राइभ गर्दै सहजै जोगाए।
३१औं मिनेटमा थ्रीस्टारले अर्को संकट टार्यो। राफेलले विकासलाई डिबक्सभित्र लडाए पनि रेफ्री प्रकाशले हाइप्रेसरमा च्यासललाई पेनाल्टी दिएनन्।
उनले उक्त फउल देखे पनि नदेखेझैँ गर्दै प्ले अनको संकेत दिए।
पहिलो हाफको अन्तिमतिर थ्रीस्टारले अग्रता दोब्बर बनायो। अनन्तले करिब ३० यार्डबाट प्रहार गरेको बललाई सेकेन्ड बारतर्फ रहेका राफेलले जम्प हेड गर्दै जाली चुमाए।
राफेल जारी लिगमा गोल गर्ने पहिलो खेलाडी हुन्। दोस्रो हाफमा पनि थ्रीस्टारले आफ्नो दबदबा कायमै राख्यो। ५८औं मिनेटमा च्यासलको कमजोर रक्षापंक्तिलाई तोड्दै थ्रीस्टारले अग्रता ३-० मा पुर्यायो।
हेमन्त तामाङले प्रहार गरेको कर्नरलाई अनन्तले टप बारतर्फ प्रहार गरेको बललाई प्रदीपले बचनउन सकेनन्।
७६औं मिनेटमा च्यासलका विकासले अर्को मौका खेर फ्याँके। माल्दिना अंगथुपोले दिएको पासलाई विकासले फ्रिमको दिशा दिन सकेनन्।
८४औं मिनेटमा थ्रीस्टारले गोल गर्ने अर्को मौका गुमायो। ऋतिककुमार खड्काको पावरफुल सर्टलाई प्रदीपले खुस्काएका थिए।
प्रदीपकै अगाडि रहेका मिक्चेन तामाङले गरेको प्रहार डिफ्लेक्ट हुँदै फर्कियो।
जितसँगै थ्रीस्टारले तीन अंक जोडेको छ। थ्रीस्टार अंक तालिकाको दोस्रो स्थानमा छ।
आजको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब १/१ गोलको बराबरीमा रोकिएको थियो।
आइतबार पहिलो खेलमा ब्रिग्रेड ब्याइज क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्। यी दुईको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ।
दोस्रो खेलमा जाउलाखेल युथ क्लब र मनाङ मस्याङ्दि क्लबबीच हुनेछ। यो खेल अपरान्ह ४:४५ बाट सुरू हुनेछ।
दुवै खेल दशरथ रंगशालामा हुनेछ।
जितसँगै थ्रीस्टारले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने 'म्यान अफ दि म्याच' घोषित भएका निशान खड्काले १० हजार रुपैयाँ नगद र ट्रफी हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।