काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न ललितपुर डर्बीमा १० खेलाडीमा सीमित फ्रेन्ड्सले ललितपुरलाई बराबरीमा रोकेको हो।
डेब्यू खेल खेलिरहेको सातदोबाटोले पहिलो र दोस्रो हाफ लगातार आक्रामक खेल खेले पनि गोल गर्न सकेन। खेलको सुरूआती समय नै सातदोबाटोले अग्रता लिने मौका गुमाएको थियो।
चौथो मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले मध्य भागबाट दिएको लामो पासलाई मार्टिन अजयीले भेट्टाए पनि बल 'कनेक्ट' गर्न सकेनन्।
मार्टिनले बल प्रहार गर्नुपूर्व नै फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले ड्राइभ गरेर बचाए। यद्यपि, मार्टिनको प्रहार राहुलको हातमा लागेको थियो।
यस्तै, नवौं मिनेटमा मानबहादुरको पास सफल हुन सकेन। मानबहादुरको पास सातदोबाटोका सुशील राईले कनेक्ट गर्न सकेनन्।
३३औं मिनेटमा कप्तनन महानबहादुरले प्रहार गरेको फ्रिकिकलाई कनेक्ट गरेर आकाश बुढामगरले प्रहार गरे पनि दिशा लिन सकेन। ५३औं मिनेटमा कप्तान मानबहादुरले डिबक्स बाहिरबाट गरेको प्रहार राहुलले गोल लाइनबाट सहजै बचाए।
त्यसको दुई मिनेट पछाडि सुशीलले डिबक्सभित्रबाट गरेको प्रहार फ्रेन्ड्सका डिफेन्डरलाई लाग्न पुग्यो। लगत्तै आकाशले डिबक्सभित्रबाट गरेको प्रहारलाई राहुलले बचाए।
५८औं मिनेटमा जमुल एन्थोनी फ्रान्सोइसले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोको माथिल्लो पोस्टमा लाग्दै फर्किएको थियो। ६०औं मिनेटमा प्रशान्त अवस्तीले प्रहार गरेको फ्रिकिक फ्रेन्ड्सको बारमा लागेर फर्किएपछि सातदोबाटोले अग्रता लिन सकेन।
६६औं मिनेटमा फ्रेन्ड्सका नाथानिल जुडेले अग्रता बनाउने मौका गुमाए। उनले प्रहार गरेको ग्रास बल डिबक्सनजिकै रहेका सातदोबाटोका पिटर सेगुनलाई लाग्दै पोस्टको दिशा लिएको थियो। उक्त प्रहारलाई अभिषेक बरालले मुस्किलले पञ्च गरेर बचाए।
७३औं मिनेटमा सातदोबाटोका डिफेन्डर पासाङ लामाले डिबक्स बाहिरबाट सेकेन्ड बारमा प्रहार गरेको बल फ्रेन्ड्सका गोलरक्षक राहुलले वान ह्यान्ड पञ्च गरेर बचाए।
७६औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा सीमित भयो। उसका रोनेल पउलले सातदोबाटोका सुशीललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए। ८८औं मिनेटमा सातदोबाटोले अर्को मौका गुमायो। सुशीलले फ्रेन्ड्सको डिफेन्स चिर्दै दिएको पासलाई प्रशान्तले सदुपयोग गर्न सकेनन्। उनले डिबक्सभित्रबाट प्रहार गरेको बल राहुलले सहजै बचाए।
यो बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्।
लिगअन्तर्गत भोलि दुई खेल हुने छन्। पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ भने अर्को खेल च्यासल युथ क्लब र थ्रिस्टार क्लबबीच हुनेछ। दुवै खेल दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।