काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ।
उद्घाटन खेल दिउँसो ४: ४५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उद्घाटन खेल पहिलोपटक फ्लडलाइटमा हुँदैछ।
सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदैछन्। दिनमा दुई खेल हुनेछन्।
पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ। दिनको दोस्रो खेल सबै फ्लडलाइटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ।
१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन्।
केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन्। यद्यपि, धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ।
सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन्।
लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ। यस्तै, हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुवै टोलीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।