काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलि (शुक्रबार)बाट सुरु हुँदैछ।
केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन्। यद्यपि, धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ।
दिनको पहिलो खेल भोलि यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुआत गर्दा नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछन्।
सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन्।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घान खेल फ्लड लाइटमा हुँदैछ। लिग सुरु हुनु पूर्व अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन्।
सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदैछन्। दिनमा दुई खेल हुनेछन्। पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ। दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ।
१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन्।
लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ। यस्तै, हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुवै टोलीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।