काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले प्रायोजन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सातदोबाटोस्थित एन्फा कन्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। एन्फाका अनुसार एक वर्षको लागि कतार एयरवेजसँग सम्झौता भएको हो। सम्झौता अनुसार कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर एन्फालाई दिनेछ।
कतार एयरवेजले अघिल्लो पटकको लिगमासमेत मुख्य प्रायोजक थियो। सम्झौतापछि बोल्दै कतार एयरवेजका मोहम्मदले नेपाली फुटबलको विकासका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, 'हामीले एन्फा जस्तै पेरिस सेन्ट जर्मेन र वायर्न म्युनिखसँग पनि सम्झौता गरेका छौं। हामी नेपाली फुटबलको विकासका लागि सहयोग गर्न पाएकोमा खुशी छौं।'
एन्फाका अध्यक्ष शेर्पाले कतार एयरवेजसँगको सम्झौता नवीकरण गर्न पाएकोमा खुशी व्यक्त गरे।यस सिजनको शीर्ष डिभिजन लिग शुक्रबारबाट सुरु हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।